काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण यसअघिका प्रधानमन्त्रीहरूको तुलनामा निकै छोटो हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ गते नयाँदिल्ली जान लागेका शाह करिब साढे २५ घण्टामै स्वदेश फर्कने तयारीमा छन्।

यसअघि शेरबहादुर देउवाले पाँचपटक भारत भ्रमण गर्दा कुल २६ दिन बिताएका थिए भने केपी शर्मा ओलीको एक भ्रमण छ दिनको थियो। पुष्पकमल दाहाल प्रचण्डले पनि चारपटक भारत भ्रमण गरेका थिए। तर, शाहको भ्रमण छोटो उच्चस्तरीय भेटघाट र द्विपक्षीय छलफलमा केन्द्रित रहने देखिएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग २४ घण्टाभित्र चारपटक भेट गर्ने कार्यक्रम तय भएको छ। भेटवार्तामा दुई देशको आपसी हित, आर्थिक सहकार्य तथा हवाई रुटसम्बन्धी विषयले प्राथमिकता पाउने बताइएको छ।

विशेषगरी नेपालले लामो समयदेखि चासो राख्दै आएको हवाई मार्गसम्बन्धी सहमतिलाई महत्त्वका साथ उठाउने तयारी छ। छोटो भ्रमण भए पनि नेपालका राष्ट्रिय प्राथमिकता र द्विपक्षीय हितका विषयमा कस्ता उपलब्धि हासिल हुन्छन् भन्ने कुराले यसको सफलता निर्धारण गर्नेछ।