काठमाडौं । जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूले देशभरका अस्पतालबाट निःशुल्क उपचार पाउने भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारको निर्णयअनुसार घाइतेहरूको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको जानकारी दिएकी छन्। 

मन्त्री मेहताका अनुसार घाइतेहरूको सहज र गुणस्तरीय उपचार सुनिश्चित गर्न मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गरेको छ। उपचारलाई थप व्यवस्थित बनाउन यसअघि लागू रहेको कार्यविधिसमेत संशोधन गरिएको छ।

संशोधित कार्यविधिअनुसार घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले सम्बन्धित अस्पताललाई शोधभर्ना गर्ने व्यवस्था गरेको छ। यसबाट देशभरका सरकारी तथा अन्य अस्पतालमा उपचाररत आन्दोलनका घाइतेले निःशुल्क स्वास्थ्य सेवा पाउने सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेको उपचार खर्चसमेत सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको मन्त्री मेहताले बताएकी छन्।

मन्त्रालयले घाइतेहरूको स्वास्थ्य अवस्थाअनुसार थप उपचार र फलोअप सेवालाई समेत प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

उपचारका क्रममा कुनै समस्या वा अन्योल भएमा मन्त्रालयको निःशुल्क हटलाइन नम्बर १११५ वा हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (HEOC) मार्फत सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।