भारत- नयाँ दिल्लीमा सम्पन्न प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा माननीय गृहमन्त्री सुधन गुरुङले आतङ्कवाद, लागु औषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड दिनुभएको छ। साथै, जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
- बैठक पश्चात माननीय गृहमन्त्री गुरुङ र भारतीय समकक्षी श्री अमित शाहसँग भएको द्विपक्षीय भेटवार्तामा दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने विषयमा समेत छलफल भयो। साथै, नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजारमा पहुँचका सम्बन्धमा भोग्दै आएका प्राविधिक समस्या, विशेषगरी बीआईएस प्रमाणीकरण लगायतका विषयमा गृहमन्त्री गुरुङले उठाउनुभएको चासोप्रति भारतीय समकक्षीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।



