झापा। भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापा जिल्लाको भ्रमणका क्रममा भूमिहीन सुकुम्बासी, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) उपलब्ध गराउने प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ।
मन्त्री रावलले जिल्ला प्रशासन कार्यालय झापामा भूमि तथा सहकारी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै जिल्लामा भूमिहीनलाई लालपूर्जा वितरण गर्ने प्रक्रियाको वर्तमान अवस्था, प्रगति र समस्याबारे विस्तृत जानकारी लिनुभएको थियो।
उहाँले लालपूर्जा वितरणको काम कहाँ र कति अघि बढेको छ भन्ने विषयमा चासो राख्दै झापाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित कार्यालयहरूलाई कुनै पनि बहानामा काम नरोकी प्रक्रिया छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो। भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर सक्रियतापूर्वक काम गर्न उहाँले आग्रह गर्नुभयो।
मन्त्री रावलले जिल्लाका विभिन्न स्थानमा पुगेर भूमिहीन सुकुम्बासी तथा सहकारी पीडित नागरिकहरूसँग प्रत्यक्ष भेटघाट र छलफलसमेत गर्नुभएको थियो। उहाँले कनकाईको सुकुम्बासी बस्ती, दमकस्थित इलाका प्रशासन कार्यालय, गौरादह नगरपालिका वडा नं. ७ लगायतका क्षेत्रमा पुगेर स्थानीयका समस्या र गुनासा सुन्नुभएको थियो। त्यसैगरी मेचीनगर र बुद्धशान्तिका विभिन्न बस्तीमा समेत पुगेर सरोकारवालासँग अन्तरक्रिया गर्नुभएको थियो।
छलफलका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकलाई सरकारले कुनै पनि बहानामा अन्यायमा नपार्ने, उनीहरूका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने र सम्भव भएसम्म छिटो लालपूर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त भ्रमण तथा छलफलमा मन्त्री रावलसँगै माननीय सांसद रमेश प्रसाई, झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक, झापा क्षेत्र नं. ४ का सांसद शम्भु ढकाल, मोरङ क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपाने, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल तथा जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्कालगायतको उपस्थिति रहेको थियो।
मन्त्रीको यो भ्रमणले वर्षौंदेखि जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेका भूमिहीन सुकुम्बासी, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकमा समस्या समाधान हुने अपेक्षा बढाएको छ। अब सम्बन्धित निकायले निर्देशनलाई व्यवहारमा उतार्दै लालपूर्जा वितरण प्रक्रियालाई परिणाममुखी बनाउनु मुख्य चुनौती देखिएको छ।
भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री प्रतिभा रावलको निर्देशन, झापाका १५ वटै पालिकालाई सक्रिय हुन आग्रह
मन्त्री प्रतिभा रावल
१ मिनेट पढाइ११ पटक पढिएको




