काठमाडौं । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच छलफल भएको छ।
मंगलबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।
भेटमा भूमिगत जलस्रोत पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने विषयले प्राथमिकता पाएको थियो। त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने र नेपालबाट विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल भयो।
यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे दुवै पक्षले विचार आदानप्रदान गरेका थिए।
भेटवार्तामा ऊर्जा तथा जलस्रोतसम्बन्धी आयोजनालाई गति दिन र आपसी हितका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।




