काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २,६२९.८२ विन्दुमा बन्द भएको छ। दशैँअघि लगातार सात कारोबार दिन बढेको बजार बिदापछि घटेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंकले घटेका छन्।

३४१ स्टकको ३८ हजार ७८८ पटकको कारोबारमा १ करोड ३ लाख ४३ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब २४ करोड २१ हजार रुपैयाँ रहेको छ। अघिल्लो कारोबार दिन असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

यस दिन बेनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ भने चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहँदा यसको २३ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये चार बढेका छन् भने नौ घटेका छन्। व्यापार उपसमूह सर्वाधिक १.११ प्रतिशत बढ्दा विकास बैंक उपसमूह १.२१ प्रतिशत घटेको छ।