काठमाडौँ- काठमाडौँस्थित चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबीसी) ले आफ्ना ग्राहकहरूका लागि नयाँ मोबाइल एप ‘एचबीसी एप’ (HBC App) सञ्चालनमा ल्याएको छ।

आइओएस र एन्ड्रोइड दुवै प्रणालीमा उपलब्ध यो एपमार्फत ग्राहकले आफ्नो अनुकूलताअनुसार साना-साना रकम चरणबद्ध रूपमा भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। सम्पूर्ण रकम भुक्तानी भएपछि ग्राहकले भौतिक रूपमै उक्त चाँदी आफ्नो स्वामित्वमा प्राप्त गर्न सक्नेछन्।

चाँदीको कारोबारमा २६ वर्ष लामो इतिहास बनाएको यस कम्पनीले एप सार्वजनिक गरेको अवसरमा दुईवटा विशेष योजनासमेत अघि सारेको छ। जसअन्तर्गत सालिको इन्स्योरेन्स (SALICO Insurance) सँगको सहकार्यमा एपका सबै ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा सुविधा उपलब्ध गराइने छ।

त्यसैगरी आगामी तिहार पर्वसम्म एपमार्फत चाँदीको पूर्ण खरिद सम्पन्न गर्ने ग्राहकहरूलाई लक्की ड्रमा सहभागी गराइने र एक भाग्यशाली विजेताले ‘टेस्ला मोडल ३’ (Tesla Model 3) विद्युतीय कार उपहार पाउने कम्पनीले जनाएको छ।

एपमा दर्ता भएर ग्राहक पहिचान (KYC) प्रक्रिया पूरा गरेपछि प्रयोगकर्ताले १० ग्रामदेखि १०० ग्रामसम्मका चाँदीका सिक्का वा ५०० ग्रामभन्दा माथिका बार खरिदका लागि लक्ष्य तय गर्न सक्नेछन्। ग्राहकले एकैपटकमा अधिकतम तीनवटा खरिद लक्ष्य सक्रिय राख्न पाउनेछन् र ५०० ग्रामभन्दा माथिका बारमा बनाउने शुल्क (Making Charge) नलाग्ने व्यवस्था गरिएको छ।

भुक्तानी अवधिभर चाँदी कम्पनीको आफ्नै भल्टमा सुरक्षित राखिने र भुक्तानी सकिएपछि ग्राहकले आइतबारको दिन पारेर आफ्नो चाँदी बुझ्न वा एपमार्फत नै पुनः बिक्री गर्न सक्ने सुविधा दिइएको छ।