काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी दिन सकिनेछ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिले २०८३ कात्तिक ९ गते पहिलोपटक सूचना प्रकाशित गर्दै सिफारिस भएका न्यायाधीशविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। सूचनाअनुसार उजुरी २०८३ कात्तिक १९ गतेसम्म बुझाउन सकिनेछ। उजुरी आधार र प्रमाणसहित संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबार वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कार्यालय समयमा बुझाउनुपर्नेछ। चाहेमा उजुरीकर्ताको नाम गोप्य राखिने सूचनामा उल्लेख छ।
सूचनामा सिफारिस भएका व्यक्तिलाई न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा त्यसको स्पष्ट आधार र सबुत प्रमाणसहित शिष्ट तथा मर्यादित भाषामा उजुरी दिन सकिने उल्लेख छ।
उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबार वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन सकिनेछ। उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्नेछ। साथै, चाहेमा उजुरीकर्ताको नाम गोप्य राखिने व्यवस्था पनि सूचनामा उल्लेख छ।
समितिले प्राप्त उजुरी वा सूचनासम्बन्धी विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत समेत पठाउन अनुरोध गरेको छ।
संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत सार्वजनिक गरिएको यो सूचनाले सिफारिस भएका उम्मेदवारको नियुक्तिअघि सार्वजनिक चासो, प्रतिक्रिया तथा सम्भावित आपत्तिहरू संकलन गर्ने उद्देश्य राखेको छ।
स्रोतः संघीय संसद्, संसदीय सुनुवाइ समिति।




