काठमाडौं । नेपालको राजनीतिमा चुनाव नजिकिएपछि उम्मेदवारको टिकट कसले पाउने भन्ने बहस सुरु हुन्छ। सिद्धान्ततः पार्टीमा लामो समय काम गरेको, स्थानीय तहमा प्रभाव राखेको वा चुनाव जित्न सक्ने व्यक्तिले टिकट पाउनुपर्ने तर्क गरिन्छ।

तर, व्यवहारमा उम्मेदवार छनोटमा शीर्ष नेतासँगको निकटता, गुटगत समीकरण, आर्थिक प्रभाव र पहुँचले पनि भूमिका खेल्ने गरेको गुनासो पुरानै हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही अभ्यास बदल्ने दाबी गर्दै बुधबार स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ सार्वजनिक गरेको छ।

रूपरेखाले उम्मेदवार छान्ने प्रक्रियालाई एउटै निर्णयमा सीमित नराखी आवेदन, तालिम, मूल्याङ्कन र प्रारम्भिक निर्वाचनको क्रमबाट अघि बढाउने व्यवस्था गरेको छ।

यसको मूल उद्देश्य पार्टीको टिकट वितरणलाई व्यक्तिको इच्छा वा प्रभावभन्दा विधि, प्रमाण र अङ्कमा आधारित बनाउनु रहेको रास्वपाले मापदण्डमा उल्लेख गरेको छ।

रूपरेखामा उम्मेदवारको योग्यता, नेतृत्व क्षमता, पार्टीमा गरेको काम, स्थानीय लोकप्रियता, सार्वजनिक आचरण र समावेशितालाई अलग-अलग आधारमा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ।

टिकटको पहिलो ढोका : उम्मेदवार क्लब

रास्वपाबाट स्थानीय तहमा उम्मेदवार बन्न चाहनेले सबैभन्दा पहिले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ। पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका आकाङ्क्षीका लागि यो प्रारम्भिक प्रवेशद्वार हुनेछ।