साउदी अरबको राजधानी रियादस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आक्रमणमा ३०९ जना घाइते भएको जनाइएको छ। स्थानीय अधिकारीहरूले आक्रमणको पुष्टि गर्दै घटनापछि किंग खालीद इन्टरनेशनल एयरपोर्ट अस्थायी रूपमा बन्द गरिएको छ।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृतकमध्ये चार जना साउदी नागरिक, दुई जना बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक मारिएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन्।
साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणको दोष यमनका हुथी विद्रोहीमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ। गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीले यात्रु र विमानस्थलका कर्मचारीलाई लक्षित गरी गरिएको आक्रमणलाई पूर्ण युद्ध अपराध भनेका छन्।
प्रत्यक्षदर्शीका अनुसार विमानस्थलको घरेलु टर्मिनलमा रहेको ४०१ नम्बरको गेटमा प्रहार भएको थियो। एक प्रत्यक्षदर्शीले समाचार एजेन्सीलाई आफूले आफ्नै आँखाअगाडि मानिसहरू घाइते भएको देखेको र त्यसपछि सबैजना भागाभाग गरेको बताएका छन्। घटनापछि दर्जनभन्दा बढी एम्बुलेन्स विमानस्थलतर्फ पुगेका थिए। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा पछिल्लो समय भएका आक्रमणको कडा निन्दा गर्दै घटनामा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको पुष्टि गरेका छन्।
आक्रमणपछि साउदी अरबस्थित विभिन्न पश्चिमी मुलुकका दूतावासले आफ्ना नागरिकलाई विमानस्थल क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्। बेलायतको विदेश कार्यालयले विमानस्थल सुरक्षित भएको पुष्टि नभएसम्म आफ्ना नागरिकलाई उक्त क्षेत्रबाट टाढा रहन भनेको छ।
यसैबीच, कुवेत एयरवेजसहित खाडी क्षेत्रका विभिन्न विमान कम्पनीले रियाद जाने तथा रियादबाट उड्ने उडान रद्द गरेका छन्। कुवेत एयरवेजले ‘सुरक्षा अवस्था’लाई कारण देखाएको छ। उडान निगरानी गर्ने फ्लाइटराडारका अनुसार रियादतर्फका सबै उडान या त अन्यत्र मोडिएका छन् वा रद्द गरिएका छन्।
यो आक्रमणअघि पनि साउदी अरबका विमानस्थललाई लक्षित गरी हुथी विद्रोहीले लगातार आक्रमण गर्दै आएका थिए। शनिबार पूर्वी साउदी अरबस्थित कैग फहाद इन्टरनेशनल एयरपोर्ट नजिकै पनि आक्रमण भएको थियो।
त्यसको अघिल्लो दिन विमानस्थलमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा एक पाइलटसहित तीन साउदी नागरिकको मृत्यु भएको थियो। अक्टोबर ६ र ७ मा साउदीका दुई विमानस्थलमा भएका हुथी आक्रमणमा पनि थप तीन जनाको मृत्यु भएको थियो।


