झापा। नेपालीहरूको महान् चाड बडादसैँ २०८३ आजदेखि सुरु भएको छ। नवरात्रको पहिलो दिन आज झापासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआजा गरी नवरात्रको शुभारम्भ गरिएको छ।
झापाको कमल गाउँपालिका–५ मा रहेको पाथीभरा माता धाममा पनि विशेष पूजाअर्चना गरी नवरात्र सुरु गरिएको छ। नवरात्रको पहिलो दिनदेखि नै धाममा भक्तजनहरूले देवीको पूजा आराधना गरेका छन्।
नवरात्रका नौ दिनसम्म यस धाममा विशेष पूजापाठ तथा धार्मिक अनुष्ठान सञ्चालन गरिने र दसैँको सप्तमीका दिन फूलपाती भित्र्याउने कार्यक्रम रहेको छ।
बडादसैँको पहिलो दिन घरघरमा जमरा राख्ने तथा शक्तिपीठहरूमा घटस्थापना गरी देवी दुर्गाको पूजा आराधना गर्ने परम्परा छ। नवरात्रभरि दुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ भने सप्तमीका दिन फूलपाती भित्र्याएर दसैँलाई थप उल्लासमय रूपमा स्वागत गरिन्छ।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्व बोकेको बडादसैँले देशभर उत्साह र भक्तिमय वातावरण सिर्जना गरेको छ।


