काठमाडौँ – विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको छ।
ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा क्यानडाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो।
नेपालका लागि रोहित पौडेलले १ सय १ रनको शतकीय इनिङ्स खेल्दा उनले गुल्सनलाई साथ दिए तर अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। गुल्सन झाले ३४ बलमा ४८ रनको इनिङ्स खले। उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
रोहितले भने १२७ बलमा ८ चौका र १ छक्काको सहयोगमा १ सय १ रन बनाएर आउट भए। रोहित र गुल्सनबाहेक बसिर अहमदले ३० रन बनाउँदा अर्जुन कुमालको २३ रन थप दोहोरो स्कोरका रुपमा रह्यो।
बलिङतर्फ क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिँदा सुखिन्दर सिंहले ३ तथा जहिद सिर्जादले २ विकेट लिए।
२३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। उसका लागि आरोन जोनसनले ४४, समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र हम्जा तारिकले २६/२६ रन जोडे।
नेपालका लागि बलिङतर्फ ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले दुई/दुई विकेट लिए।

