जनकपुरधाम – चाडपर्व लक्षित धनुषामा १ हजार २ सयभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ। हिन्दूहरुको महानपर्व दशैँ, तिहार तथा छठ लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना तयार गरेको हो। जस अन्तर्गत जिल्लाभर १ हजार २ सय ११ जना प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई रोक्न विशेष सुरक्षा योजना तयार गरेको बताए। विशेष सुरक्षा योजना अन्तर्गत पिकेट, पैदल गस्ती, बजार अनुगमन, गाडी मोवायल, रिफ्रेश प्वाईन्ट लगायतको व्यवस्था गरिएको जानकारी दिए।
उनका अनुसार संवेदनशिल क्षेत्रमा परिचालगन गर्न थप ७० वटा ठाउँमा पिकेट राखिएको हो। यस्तै, आवश्यकता र औचित्यको आधारमा आकाश्मिक रुपमा परिचालन गर्न ४६ वटा पैदल गस्ती, बजार अनुगमनका लागि ७ टोली राखिएको छ।
यस्तै, स्वीप अपरेशनका लागि ७ वटा ठाउँ पहिचान गरिएको उनले बताए। विपद् प्रतिकार्यका लागि १५ वटा टिम, गाडी मोबाइल १३ वटा, लालगढमा एउटा रिफ्रेस सेन्टर, लामो दुरीका सवारी साधन चेकजाँच गर्न २ स्थान, दैनिक आरएससीसी चेकिंगको व्यवस्था गरिएको प्रहरी उपरीक्षक खड्काले बताए।
चाडपर्वको समयमा बैँक तथा वित्तीय संस्था, सुन–चाँदी पसल, मोटरसाइकल चोरीका लागि बीएसपी सुरक्षा कार्ययोजना तयार गरीएको उनले बताए।
यसैगरि उनले आफू आएपछि जिल्ला प्रहरी कार्यालयबाट भएको गतिविधिको बारेमा जानकारी गराएका हुन्। जेठ २३ गतेदेखि असोज १५ गतेसम्ममा ५९९ वटा मुद्दा दर्ता भएकोमा ५९० वटा फछर्यौट भएको जानकारी दिए। यस्तै, अनुसन्धानमा ६६ वटा चालु मुद्दा रहेको छ।



