दुबई- भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ ।

 ‘संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, ‘कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ ।’

आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले यो पाला पहिलो पटक इन्टरनेट सिटीस्थित ‘दी एजेन्डा’ रोजेको थियो ।